background
घर–घरमा गीता, हाम्रो अभियान — गीता पढौं, पढाऔँ र जीवनमा उतारौँ।
सन् २०१५ देखि
Blog & News
Background

गीताप्रेस नेपाल

गीताप्रेस नेपालको अवधारणा स्थापना: बि.सं.२०७२ (ई.सं.२०१५)

“सनातन धर्म, संस्कार र सत्साहित्यको उज्यालो दीप नेपालमै”


यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥

वि.सं. २०७२ साल बैशाख १२ गते नेपालमा आएको विनाशकारी महाभूकम्पको बेला भारतको सूरत, गुजरातस्थित मानव सेवा आश्रमका उपाध्यक्ष श्री रामनारायण चाण्डकज्यूले मानवीय सेवाको प्रेरणाबाट माहेश्वरी समाज काठमाडौंका तत्कालीन निवर्तमान अध्यक्ष श्री जयकिसन सारडामार्फत २०० भूकम्प पीडित घरहरूको पुनर्निर्माणको जिम्मेवारी लिनुभएको थियो। सिन्धुपाल्चोकका गाउँहरूमा पुनर्निर्माण भ्रमणको क्रममा विभिन्न संघ–संस्थाहरूले राहत वितरणसँगै पश्चिमी धर्म प्रचार गरिरहेको दृश्यले उहाँलाई विचलित बनायो। यहींबाट नेपालको मौलिक वैदिक सनातन धर्मको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारको गहिरो आवश्यकता महसुस गर्दै नेपालमै गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखाको रूपमा "गीताप्रेस नेपाल" को स्थापना गर्ने संकल्प गर्नुभयो। यस उद्देश्य अनुरूप पशुपतिनाथ क्षेत्रअन्तर्गत भुवनेश्वरी मन्दिर नजिकै पहिलो कार्यालय स्थापना गरी ई.सं. २०१५ देखि सत्साहित्य विक्री र वितरण कार्य शुभारम्भ गरियो। ई.सं. २०१६ मा "गीताप्रेस पुस्तक बिक्री केन्द्र नेपाल" को नाममा विधिवत रूपमा दर्ता भयो। यस संस्थाको उद्देश्य नेपालका दुर्गम भू–भागमा गीता, रामायण, पुराण, इत्यादी सत्साहित्यको प्रचारप्रसार गरी वैदिक संस्कारयुक्त सुसंस्कृत समाजको निर्माण गर्नु, युवापुस्तामा नैतिक चेतना फैलाउनु र सनातन धर्मको मूल मर्मको उज्यालो फैलाउनु हो। गीताप्रेस नेपाल कुनै व्यावसायिक संस्था नभई निःस्वार्थ सेवाभाव, धर्म, संस्कार र आध्यात्मिक चेतनाको वाहकको रूपमा समर्पित संस्था हो।

Event Image
हाम्रो उद्देश्य
Event Image

॥ घर-घर गीता, हाम्रो अभियान ॥
॥ गीता पढौं, पढाऔं, जीवनमा उतारौं ॥

हामी सनातन धर्मका शाश्वत सिद्धान्तहरूको प्रचार–प्रसार गर्दै मानव जीवनको समुन्नति, नैतिक उत्थान तथा समाजमा शान्ति, सद्भाव र धार्मिक चेतनाको विस्तार गर्ने महान लक्ष्यमा समर्पित छौं। भगवद्गीता, रामायण, उपनिषद्, पुराण, सन्तवाणी र आध्यात्मिक सत्साहित्यहरूलाई सरल भाषामा, सुलभ मूल्यमा नेपाली समाजका सबै वर्गसम्म पुर्‍याउनु नै हाम्रो मूल उद्देश्य हो। हामी प्रत्येक घरमा धर्म, सेवा र संस्कारको ज्योति प्रज्वलित गर्न चाहन्छौं जसले सम्पूर्ण मानवजातिलाई आत्मिक रूपले समृद्ध बनाउँदै सच्चा जीवन मार्गतर्फ अग्रसर गराओस्। हाम्रो अभियान नाफारहित, सेवामूलक र पूर्ण रूपले सनातन धर्मप्रति समर्पित छ।

भक्त्या जातं धर्मे निष्ठितम्॥
सनातने सत्ये गाढं स्थितम्॥

गीताप्रेस गोरखपुरको विषयमा जानकारी

विश्वकै सबैभन्दा ठूलो हिन्दू धार्मिक ग्रन्थ प्रकाशक - गीताप्रेस गोरखपुर

गीताप्रेस सन् १९२३ (वि.सं. १९८०) मा जयदयाल गोयन्दकाजी द्वारा भारतको उत्तर प्रदेश राज्यको गोरखपुर शहरमा स्थापना गरिएको विश्वकै सबैभन्दा ठूलो धार्मिक साहित्य प्रकाशन संस्था हो। यसको मुख्य उद्देश्य हिन्दू धर्मका मूलग्रन्थहरू — श्रीमद्भगवद्गीता, रामचरितमानस, उपनिषद्, पुराण, वेदान्त दर्शन र सन्त वाणीजस्ता सत्साहित्यलाई सरल भाषामा, न्यून मूल्यमा र निःस्वार्थ सेवाभावका साथ जन–जनसम्म पुर्‍याउनु हो। गीताप्रेसले हालसम्म ९०० भन्दा बढी धार्मिक, नैतिक र आध्यात्मिक ग्रन्थहरू नेपाली लगायत १५ भन्दा बढी भाषाहरूमा प्रकाशित गरिसकेको छ । सन १९२७ देखि प्रकाशित "कल्याण" मासिक पत्रिका हिन्दू धर्म र संस्कृति सम्बन्धी विश्वकै सर्वाधिक बिक्री हुने पत्रिकामध्ये एक हो। गीताप्रेसको अभिलेखागारमा ३५०० भन्दा बढी पाण्डुलिपीहरू संग्रहित छन्। गीताप्रेस व्यावसायिक लाभमा आधारित संस्था होइन, यसको सबै काम सेवा र धर्मप्रचारका लागि समर्पित छ। यस संस्थाले कुनै पनि प्रकारको अनुदान लिँदैन, न त पुस्तकमा कुनै विज्ञापन नै प्रकाशित गर्छ। यस संस्थाको संचालन गीताप्रेस गोरखपुरको न्यासी परिषद् (ट्रस्ट बोर्ड) द्वारा गरिन्छ। प्रेसको घाटा संस्था अन्तर्गतका अन्य सेवाप्रदायक निकायहरुको आयश्रोतबाट परिपुर्ती गरिन्छ वा ट्रस्ट बोर्डका सदस्यहरुबाट परिपुर्ती हुन्छ।

Event Image
Event Image
Event Image
गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको अवधारणा स्थापना: बि.सं.२०७९ (ई.सं. २०२२)
Event Image

गीता सुगीता कर्तव्या किमन्यै: शास्त्रविस्तरै: ।
या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिःसृता ।।

(भावार्थ: श्रीमद्भगवद्गीता स्वयं भगवान् विष्णुको मुखारविन्दबाट प्रकट भएको ज्ञान हो — यसको सुयोग्य अध्ययन गर्नु नै मुख्य कर्तव्य हो, अन्य शास्त्रहरूको विस्तार आवश्यक छैन।)

यही आध्यात्मिक भावनाबाट प्रेरित भई सनातन धर्म संस्कृतिको संरक्षण तथा संस्कृत भाषाको मूल मर्मलाई नेपाली जनसमुदायसम्म पुर्‍याउने उद्देश्यका साथ वि.सं. २०७३ (ई.सं. २०१६) मा "गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपाल" को स्थापना गरिएको हो। यस संस्थाले शहरदेखि दुर्गम गाउँसम्म गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यहरूलाई सरल नेपाली भाषामा, सस्तो मूल्यमा, र अनुदानित वितरणको माध्यमबाट प्रचार प्रसार गर्दै आएको छ। ई.सं. २०२२ मा संस्थागत रूपमा दर्ता भई काम सुरु गरिएको यस केन्द्रले, काठमाडौंको गीताप्रेस पुस्तक बिक्री केन्द्रको व्यवस्थापनमा, पशुपतिनाथ मन्दिर क्षेत्रमै पहिलोपटक श्रीगीता जयन्ती महोत्सव आयोजना गरी, नेपाली भाषामा सरल गीता प्रकाशित गरी हजारौं विद्यार्थीहरूलाई निःशुल्क वितरण गरेको ऐतिहासिक कार्य सम्पन्न गर्यो।

Event Image
Event Image

यस अभियान अन्तर्गत डा. वासुदेवकृष्ण शास्त्रीज्यूको संयोजकत्वमा “घर–घर गीता — हाम्रो अभियान” कार्यक्रमको घोषणा गरिएको छ, जसअनुसार नेपालका विभिन्न विद्यालयहरू, गुरुकुलहरू र नेपालीभाषी समुदायमा सरल गीता वितरण भइरहेको छ। यो सेवा कार्य हाल नेपालमा मात्र नभई रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीहरूसम्म पनि फैलिएको छ। गीताप्रेस गोरखपुरले नेपाली अनुवादमा दिएको सहयोगले यस अभियानलाई अझ प्रभावकारी बनाएको छ। संस्थाको उद्देश्य सनातन धर्मलाई बालबालिकादेखि युवासम्म रोप्नु हो, त्यसैले बोर्डिङ स्कुल, सामुदायिक विद्यालय आदिमा पनि पुस्तक वितरणको लक्ष्यका साथ कार्य भइरहेको छ।

गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखाका रूपमा यो संस्था नेपाली सनातन धर्मको संरक्षणमा थपिएको बलियो आधारशिला हो र यसले भविष्यमा अर्को शताब्दीसम्म गीता प्रचार कार्यलाई निरन्तरता दिने संकल्प लिएको छ। यस संस्थामा अधिकतम २१ जना ट्रस्टी रहनेछन् भने सहयोगी कार्यदल सदस्यहरू असीमित हुन सक्ने प्रावधान रहेको छ।

हाम्रो उद्देश्य
Event Image

हाम्रो मूल उद्देश्य श्रीमद्भगवद्गीताको शाश्वत ज्ञानमार्फत नेपाली समाजमा बाल्य अवस्थाबाटै संस्कृत भाषाको अध्ययन, अभ्यास र जीवनपयोगी धर्मदर्शनको विस्तार गर्नु हो। सनातन संस्कृतिको संरक्षण गर्दै, नेपालभर गीता चेतनाको जागरण गर्ने हाम्रो अभियान निम्नलिखित मार्गदर्शनमा आधारित छ:

तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया।
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वद र्शिनः॥

  • 🕉 बाल्य अवस्थाबाटै संस्कृत भाषा सिकाउने, पढाउने र पढ्ने संस्कृतिको विकास — श्रीमद्भगवद्गीताको सरल अध्ययनबाट।
  • 📚 विभिन्न विद्यालय, पाठशाला तथा स्थानिय तहमा गीता प्रचार–प्रसार र पुस्तक निःशुल्क वितरण कार्यको निरन्तरता।
  • 🌄 पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म गीता जयन्तीको अवसरमा गीतासिकाइ तथा प्रशिक्षण कार्यक्रमहरूको आयोजना।
  • 🪔 सुसंस्कृत, सुसंस्कारित, समुन्नत सनातन समाजको निर्माणमा योगदान पुर्‍याउने।
  • 🧘 Zoom, WhatsApp र प्रत्यक्ष कक्षाको माध्यमबाट ‘गीता परिवार नेपाल’द्वारा शुद्ध संस्कृत भाषामा पठन–पाठन गराई जीवनमा गीताको अमृतज्ञान उतार्न प्रेरणा प्रदान गर्ने।
  • 🏛 गीता भवन निर्माण गर्दै मोबाइल गाडीमार्फत नेपालका दुर्गम भेगहरूमा निःशुल्क पुस्तक वितरण प्रणाली विकास गर्ने।
  • 🏫 संस्कृति र संस्कृत भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि गुरुकुल सञ्चालन गर्ने।
  • 💰 गीताप्रेमी दाताहरू, ट्रस्ट, संघ–संस्था तथा सदस्यहरूको स्वेच्छिक योगदानमा आधारित अक्षयकोष स्थापना, जसको व्याज रकम प्रचार–प्रसार र निःशुल्क पुस्तक वितरणमा प्रयोग गरिनेछ।
  • 🚐 सवारी साधनद्वारा प्रचार अभियान सञ्चालन गर्न आम साधारण सदस्य, भक्तजनहरूसँग सहयोग संकलन गर्ने।
  • 📦 प्राप्त सहयोगको १००% गीताप्रेस गोरखपुरका पुस्तकमा खर्च गरिने र ती पुस्तकहरू निःशुल्क वितरण गरिने हाम्रो स्पष्ट प्रतिबद्धता रहनेछ।

गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको विशेष अनुरोध

दातव्यमिति यद्दानं दीयतेऽनु पकारिणे।
देशे काले च पात्रे च तद्दानं सात्त्विकं स्मृतम्॥

स्वेच्छिक रूपमा पुस्तक दान गर्ने इच्छुक महानुभावहरूले पशुपतिनाथ मन्दिर परिसर वनकाली स्थित सुमार्गी भवनमा रहेको गीताप्रेस पुस्तक बिक्री केन्द्रबाट भारतमै रहेको मूल्यमा पुस्तकहरू खरिद गरी आफैंले वा हाम्रो सहयोगमा वितरण गर्न सक्नु हुन्छ । स्वेच्छिक रुपमा यस पुनित कार्यमा सहभागी हुन इच्छुक धर्मानुरागी महानुभावहरूले संस्थाको नेपाल एसबिआई बैंक लिमिटेडको गौशाला शाखामा रहेको खातामा रकम जम्मा गराउन सक्नु हुन्छ ।

Those wishing to participate in this noble work voluntarily can also contribute funds to the institution’s account at Nepal SBI Bank Limited, Gaushala Branch:

गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र
नेपाल एस.बि.आई. बैंक लिमिटेड
खाता नं. 21725240200384